नेपाली
भिक्टोरिया राज्यको निर्वाचन नोभेम्बर 28, शनिबारका दिन हुँदै छ।
राज्य चुनावमा कसले मतदान गर्नुपर्छ?
भिक्टोरियामा बसोबास गर्ने 18 वर्ष र सोभन्दा बढी उमेरका सबै अष्ट्रेलियाली नागरिकहरूले राज्यको चुनावमा मतदान गर्न नामावली दर्ता गराउनुपर्छ।
यदि तपाईं अष्ट्रेलियाको नागरिक बनिसक्नुभएको छ तर मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन भने, नोभेम्बर 3 मङ्गलवार को दिन राति 8 बजेसम्ममा नाम दर्ता गरिसक्नुपर्ने छ।
धेरै मानिसहरूले नागरिकता समारोहमा मतदाता नामावलीमा नाम दर्ता गर्ने गर्छन्। तपाईंको नाम दर्ता भएको छ कि छैन भनेर यकिन छैन भने? तपाईंले हामीलाई 03 9209 0163 मा कल गरेर बुझ्न सक्नुहुन्छ।
मतदान गर्न नाम दर्ता गराउनुहोस्
तपाईं या त अनलाइन (अङ्ग्रेजीमा) मतदान गर्न नाम दर्ता गर्न सक्नुहुन्छ वा अष्ट्रेलियाली निर्वाचन आयोग (AEC) मा तपाईंलाई उपयोगी हुने अनुदित स्रोतहरू फेला पार्न सक्नुहुन्छ।
यदि तपाईंले नाम दर्ता गर्ने अन्तिम मिति (नोभेम्बर 3, मङ्गलबारको दिन राति 8 बजे) छुटाउनुभयो भने, तपाईंको नाम मतदान केन्द्रमा मतदाता सूचीमा हुने छैन। तपाईंले मतदान केन्द्रमा गई नाम दर्ता गर्न र मतदान गर्न चाहनुहुन्छ भनेर निर्वाचन कर्मचारीहरूलाई भन्न सक्नुहुन्छ। उनीहरूले तपाईंलाई फाराम भर्न मद्दत गर्न सक्छन्।
आफ्नो विवरण जाँच गर्नुहोस् वा अद्यावधिक गर्नुहोस्
मतदाता नामावलीमा नाम दर्ता भएपछि, तपाईंले आफ्नो विवरण अद्यावधिक राख्नुपर्छ। प्रत्येक पटक घर सर्दा, तपाईंले आफ्नो नामावली विवरण अद्यावधिक गर्नुपर्छ। तपाईंले हालै आफ्नो नाम वा ठेगाना परिवर्तन गर्नुभएको छ भने, नोभेम्बर 3 मङ्गलवारको दिन राति 8 बजेभित्र आफ्नो विवरण अद्यावधिक गरिसक्नुपर्ने छ।
आफ्नो ठेगाना वा नाम परिवर्तन गर्नका लागि तपाईं अनलाइन (अङ्ग्रेजीमा) नामावली अद्यावधिक गर्न सक्नुहुन्छ।
के मैले मतदान गर्नैपर्छ?
हो। यदि तपाईंको नाम भिक्टोरियामा दर्ता गरिएको छ भने, तपाईंले मतदान गर्नुपर्छ। यदि तपाईंले मतदान गर्नुभएन भने, कुनै मुनासिब कारण नभएमा तपाईंलाई $105 जरिवाना हुन सक्छ।
कसरी मतदान गर्ने
अग्रिम मतदान गर्नुहोस्
यस निर्वाचनमा जोकसैले पनि अग्रिम मतदान गर्न सक्नुहुने छ; यसका लागि कुनै विशेष कारण खुलाउन वा अतिरिक्त फाराम भर्नुपर्दैन।
अग्रिम मतदान केन्द्रहरू बुधबार 18 नोभेम्बरदेखि शुक्रबार 27 नोभेम्बरसम्म बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म खुला रहने छन्। अग्रिम मतदान केन्द्रहरू आइतबार 22 नोभेम्बरको दिन बन्द रहने छन्।
निर्वाचनको दिन मतदान गर्नुहोस्
निर्वाचनका दिन मतदान केन्द्रहरू शनिबार 28 नोभेम्बर बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म खुला रहने छन्।
आफूलाई पायक पर्ने मतदान केन्द्र बुधवार 4 नोभेम्बरदेखि यस वेबसाइटमा भेट्टाउन सक्नुहुन्छ।
सबै मतदान केन्द्रहरूमा 29 वटा भाषामा मतदानसम्बन्धी निर्देशनहरू उपलब्ध हुने छन्।
मतदान केन्द्रहरूमा कार्यरत केही कर्मचारीहरूले अङ्ग्रेजीका अलावा अन्य भाषाहरू पनि बोल्न सक्नुहुन्छ। उहाँहरूले आफूले बोल्ने भाषाहरू उल्लेख भएको ब्याज लगाउनुभएको हुने छ।
हुलाकमार्फत मतदान गर्नुहोस्
तपाईं यस चुनावमा आफ्नो मतपत्र हुलाक मार्फत पठाइदिन अनलाइन आवेदन दिन सक्नुहुन्छ।
तपाईंले बुधवार 4 नोभेम्बरदेखि बुधवार 25 नोभेम्बर साँझ 6 बजेसम्म आवेदन दिन सक्नुहुन्छ।
हामी मङ्गलबार 10 नोभेम्बरदेखि मतपत्र प्याकहरू पोस्ट गर्ने छौँ। आफ्नो मतदान सम्पन्न गरी शनिबार 28 नोभेम्बर साँझ 6 बजेअघि नै निःशुल्क डाक खाममा राखी फिर्ता पठाउनुहोस्।
मतपत्र भर्ने तरिका
तपाईंको मत सदर हुनका लागि दुवै मतपत्रहरू सही तरिकाले भरिएको हुनुपर्छ।

सानो तल्लो सदनको मतपत्रमा:
- तपाईंले जिताउन चाहेको उम्मेदवारको नाम छेउको बाकसमा 1 लेख्नुहोस्
- तपाईंको दोस्रो रोजाइका व्यक्तिको छेउमा रहेको बाकसमा 2 लेख्नुहोस्
- तपाईंको तेस्रो रोजाइका व्यक्तिको छेउमा रहेको बाकसमा 3 लेख्नुहोस्
- सबै बाकसहरूमा अङ्क नभरिएसम्म अङ्क भर्दै जानुहोस्
- संख्याहरू मात्र प्रयोग गर्नुहोस्।

माथिल्लो सदनको ठूलो आकारको मतपत्रमा तपाईंले दुईमध्ये कुनै एक तरिका रोज्न सक्नुहुन्छ:
- तपाईंले रोज्नुभएको क्रममा कम्तीमा पाँच बाकसहरूमा अङ्क तोकेर रेखाभन्दा माथिका समूहहरूलाई मतदान गर्नुहोस्
वा - तपाईंले रोज्नुभएको क्रममा 1 देखि 5 सम्म कम्तीमा 5 वटा बाकसहरूमा अङ्क तोकेर रेखामुनिका हरेक उम्मेदवारहरूलाई मतदान गर्नुहोस्।
- तपाईंले चाहेमा 5 भन्दा बढी अङ्कहरू पनि लेख्न सक्नुहुन्छ, तर तपाईंको मत सदर हुनका लागि कम्तीमा 5 वटा बाकसमा अङ्क भर्नु अनिवार्य छ।
मतदान गर्ने तरिकाको बारेमा थप जानकारी
भिक्टोरियाबाट टाढा हुनुहुन्छ?
यदि तपाईं बुधवार 18 नोभेम्बरदेखि शनिबार 28 नोभेम्बरसम्म भिक्टोरियाबाहिर हुनुहुन्छ भने पनि मतदान गर्न सक्नुहुने छ। तपाईं निम्न कार्यहरू गर्नु सक्नुहुने छ:
- अष्ट्रेलियाको कुनै पनि अन्य राज्यस्थित निर्वाचन आयोगको कार्यालयमा स्वयं उपस्थित भई मतदान गर्ने
- विदेशमा रहेको कुनै पनि मतदान केन्द्रमा व्यक्तिगत रूपमा उपस्थित भई मतदान गर्ने
- हुलाक मार्फत मतदान गर्न आवेदन दिने र आफूले भरेका मतपत्रहरू हामीलाई फिर्ता पठाउने।
- हुलाक मार्फत मतदानका लागि आवेदन दिने र विदेशमा आफू नजिकको मतदान केन्द्रमा फिर्ता पठाउने।
अन्तरराज्यीय मतदान केन्द्रहरू र विदेशस्थित मतपत्र सङ्कलन/बुझाउने स्थानहरू कार्यालय समयमा मात्र खुला रहने छन्। निर्वाचनको दिन (शनिबार 28 नोभेम्बर) कुनै पनि अन्तरराज्यीय मतदान केन्द्र वा विदेशस्थित मतपत्र सङ्कलन केन्द्रहरूमा मतदान हुने छैन।
तपाईं भिक्टोरियाबाट टाढा हुनुहुने छ भन्ने कुरा हामीलाई थाहा दिनुहोस्
यदि तपाईं बुधवार 18 नोभेम्बरदेखि शनिबार 28 नोभेम्बरसम्मको अवधिमा विक्टोरियाबाहिर रहनुहुने छ र अग्रिम वा डाकमार्फत मतदान गर्न असमर्थ हुनुहुन्छ भने, प्रस्थान गर्नुअघि नै हामीलाई जानकारी गराउन सक्नुहुन्छ।
हामीलाई जानकारी गराउन 3 विकल्पहरू छन्:
- हामीसँग दोभासेको मद्दत लिएर कुरा गर्न >03 9209 0163 मा कल गर्नुहोस्
- भिक्टोरियाबाहिर रहने फाराम (अङ्ग्रेजीमा) भर्नका लागि मेरो मतदाता नामावली दर्ता जाँच गर्नुहोस् विकल्प प्रयोग गर्नुहोस्
- यदि तपाईं अस्थायी वा अनिश्चितकालका लागि अन्य राज्य वा विदेशमा रहनुहुने छ भने, AEC मार्फत वैदेशिक बसोबास सम्बन्धी सूचना फाराम (अङ्ग्रेजीमा) भर्न सक्नुहुन्छ।
VoterAlert
VoterAlert एक नि:शुल्क SMS तथा इमेल निर्वाचन रिमाइन्डर सेवा हो। तपाईंले निर्वाचन सम्बन्धी अद्यावधिक समाचार र मतदानसम्बन्धी रिमाइन्डरहरू अङ्ग्रेजीमा प्राप्त गर्न सक्नुहुन्छ।
VoterAlert का लागि साइन अप गर्नुहोस्
चुनावमा को-को उम्मेदवार उठेका छन्
बुधवार 4 नोभेम्बरदेखि तपाईंले आफ्नो क्षेत्रबाट चुनावमा उठेका उम्मेदवारहरूको नामावली (अङ्ग्रेजीमा) खोज्न सक्नुहुन्छ।
चुनावमा उठ्नुहोस्
यदि तपाईं चुनावमा उम्मेदवार हुन चाहनुहुन्छ भने, तपाईंले मनोनयन गर्नुपर्छ।
चुनावमा उम्मेदवारी दर्ता (मनोनयन) बुधवार 4 नोभेम्बरदेखि खुल्ने छ र सोमबार 9 नोभेम्बर मध्यान्न 12 बजे बन्द हुने छ:
चुनावमा उम्मेदवारी दिनेसम्बन्धी थप जानकारी लिनुहोस् (अङ्ग्रेजीमा)
दानको खुलासा गर्ने
कुनै पनि अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाका स्थायी बासिन्दा तथा मान्यताप्राप्त व्यावसायिक नम्बर भएको संस्थाले भिक्टोरियामा राजनीतिक चन्दा दिन सक्ने छन्। सान्दर्भिक व्यवसाय नम्बरहरू निम्नानुसार छन्:
- अष्ट्रेलियाली व्यवसाय नम्बर (ABN)
- अष्ट्रेलियाली कम्पनी नम्बर (ACN)।
कुनै पनि चन्दादाताले 2026 को 15 अप्रिलदेखि 28 नोभेम्बरको अवधिमा कुनै एक प्राप्तकर्तालाई $5,190 भन्दा बढी राजनीतिक चन्दा दिन पाउने छैनन्। यदि तपाईंले $1,290 वा सोभन्दा बढीको राजनीतिक चन्दा दिनुभएको वा प्राप्त गर्नुभएको छ भने, हाम्रो अनलाइन प्रणाली VEC खुलासा मार्फत त्यसको विवरण सार्वजनिक गर्नु अनिवार्य छ। तपाईंले चन्दा दिएको वा प्राप्त गरेको 21 दिनभित्र यो विवरण पेस गरिसक्नुपर्ने छ। यदि तपाईंले $1,290 वा सोभन्दा बढी रकमका दुई वा सोभन्दा बढी चन्दाहरू दिनुभएको छ भने, प्रत्येक चन्दाको अलग्गै विवरण घोषणा गर्नुपर्ने छ।
राजनीतिक चन्दा खुलासा गर्नुहोस्
राजनीतिक चन्दाहरूको बारेमा थप पढ्नुहोस् (अङ्ग्रेजीमा)
तपाईंले भोट नहाले के हुन्छ?
यदि हामीसँग तपाईंले मतदान गर्नुभएको अभिलेख छैन भने, तपाईंले भोट हाल्नुभयो वा भएन भनी सोधपुछ गर्न हामी पत्र पठाउने छौँ।
- यदि तपाईंले मतदान गरिसक्नुभएको छ भने, कहाँ मतदान गर्नुभएको थियो सोको जानकारी हामीलाई दिनुहोस्, ताकि हामी हाम्रो रेकर्ड पुन: जाँच गर्न सकौँ
- यदि तपाईंले मतदान गर्नुभएन भने, हामीलाई तपाईंको कारण बताउनुहोस्।

तपाईंले यस सूचनाको जवाफ अनलाइन, पत्र वा इमेल मार्फत दिन सक्नुहुन्छ।
यदि तपाईंले जवाफ दिनुभएन वा तपाईंसँग मतदान नगर्नुको वैध कारण छैन भने, तपाईंले $105 जरिवाना तिर्नुपर्ने हुन सक्छ।
थप जानकारी
यदि तपाईंसँग 2026 को राज्य चुनावको बारेमा कुनै प्रश्न छ भने, दोभासे मार्फत हामीसँग कुरा गर्न >03 9209 0163 मा कल गर्नुहोस्।